धनगढी । कञ्चनपुरमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय र रु ५० हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेवराज राना र चोरी मुद्दामा ३ महिना कैद सजाय, रु १५ हजार जरिवाना र अन्य चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएका पुनर्वास नगरपालिका–१० विकासबस्ती बस्ने २६ वर्षीय महेश राना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।



















