धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध उनकै दलका बहुमत सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। यससँगै प्रदेश कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक असन्तुष्टि औपचारिक रूपमा सतहमा आएको छ।
प्रदेश सभामा नेपाली कांग्रेसका १८ सांसद रहेकामा एक सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। नेपालमा रहेका १७ सांसदमध्ये ९ जनाले हस्ताक्षर गरी मंगलबार संसदीय दलमा शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेस स्रोतले जनाएको छ।
पछिल्लो समय मुख्यमन्त्री शाहको कार्यशैली र नेतृत्वप्रति दलभित्र असन्तुष्टि बढ्दै गएको थियो। केही सांसदहरूले सार्वजनिक रूपमा नै नेतृत्व परिवर्तनको माग गर्दै उनको राजीनामा मागेका थिए। बढ्दो दबाबबीच मुख्यमन्त्री शाहले आफूले बहुमत सांसदको समर्थन गुमाएको पुष्टि भए पद त्याग्न तयार रहेको बताएका थिए।



















