कैलाली ।राष्ट्रिय अपांग महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा नन्दराज भट्ट चयन भएका छन्।
समितिको उपाध्यक्षमा निर्मला विष्ट, सचिवमा प्रेम बोहरा, सहसचिवमा रामप्रसाद जोशी र कोषाध्यक्षमा चेतराज भट्ट चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा कमलसिंह धामी, शान्ति मल्ल, विष्णुरूपा आचार्य, नरेन्द्र विष्ट, गौरीशंकर चौधरी, मीना खत्री, दुर्गाकुमारी थापा र अंकित जोशीलाई चयन गरिएको छ।
नयाँ कार्यसमिति निर्विरोध चयन भएको अधिवेशनका निर्वाचन अधिकृत गम्भीरसिंह ऐरले जानकारी दिए। महासंघका केन्द्रीय कोषाध्यक्ष रमेशकुमार बस्नेत र केन्द्रीय सदस्य अर्जुन रावलको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो। यसअघि गत वर्ष कृष्ण धमलाको नेतृत्वमा चयन भएको समिति विधानविपरीत चयन भएको पाइएपछि केन्द्रले मान्यता नदिएकाले अहिले नयाँ समिति चयन गरिएको महासंघका केन्द्रीय कोषाध्यक्ष बस्नेतले बताए।
नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिममा रहेका अपांगता भएका व्यक्तिको हकअधिकारका लागि समितिले काम गर्ने बताए। सुदूरपश्चिममा ७० हजार जना अपांगता भएका व्यक्ति रहेको तथ्यांक रहेको जानकारी दिँदै उनले उनीहरूको शिक्षा, स्वास्थ्यको अधिकार प्राप्ति तथा जीविकोपार्जनमा सहयोग गर्नुका साथै अपांगतामैत्री नीतिका लागि महासंघले वकालत गर्ने भट्टले बताए ।



















