काठमाडौं- स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूले सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सक्ने भएका छन्।
कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।
जरिवाना रकम नबुझाएमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइने छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा जरिवाना रकम नबुझाउने उम्मेदवारको नाम समावेश भएको छ।













