धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरी अर्को दलमा आबद्ध भएका स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको जानकारी सार्वजनिक गरेसँगै गिरीको उपाध्यक्ष पद रिक्त भएको हो ।
गिरी २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनले माओवादी केन्द्र परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागिता जनाएका थिए ।
माओवादी केन्द्रले गिरीलाई पार्टीबाट निष्कासन गरिएको निर्णयसहितको जानकारी निर्वाचन आयोगमा पठाएको थियो । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा जुन दलबाट निर्वाचित भएको हो, सोही दल त्याग गरेमा सम्बन्धित जनप्रतिनिधिको पद रिक्त हुने कानुनी व्यवस्था छ ।
माओवादी केन्द्रबाट निर्वाचित गिरीले पछि उक्त दल परित्याग गरेको पुष्टि भएपछि उनको उपाध्यक्ष पद रिक्त भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार देशभर दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । पद रिक्त हुनेमा तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित दुई उपाध्यक्ष तथा आठ वडाध्यक्ष छन् ।















