धनगढी । कैलाली प्रहरीले सरकारी जागिर लगाइ दिने भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय राज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार श्रेष्ठले आफ्नो वास्तविक परिचय लुकाई मोहन केसीको नाममा नक्कली नागरिकता प्रमाणपत्र लगायतका कागजात तयार गरी विभिन्न बैंकमा खाता खोलेका थिए।
उनले नेपाली सेना,नेपाल प्रहरी तथा स्टाफ नर्सलगायतका पदमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिने गरेको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका श्रेष्ठमाथि ठगीसम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















