धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला एक महिनामा विभिन्न प्रकृतिका तीन सय ३९ मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सो अवधिमा दुई सय ८३ जनालाई पक्राउ गरिएको छ ।
भदौ महिनामा प्रदेशभरी सामाजिक अपराधका ६१ वटा,संगठित तथा आर्थिक अपराधका १२,महिला तथा बालबालिका सम्बन्धी अपराधका ३३,ज्यानसम्बन्धी ६६,आत्महत्यासम्बन्धी ४९,चोरीसम्बन्धीका ७,अन्य ९६ र सवारी ज्यानसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।
नका अनुसार सो एक महिनाको अवधिमा जघन्य तथा गम्भीर अपराधतर्फ कतव्यज्यानका तीन र हातहतियारसम्बन्धी चार वटा,आर्थिक अपराधतर्फ बैंकिङ कसुरका २५,जुवाताससम्बन्धी दुई र ठगीसम्बन्धीका ११ वटा तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ३३ वटा मुद्दा दर्ता भएका छन् ।
घरेलु हिंसातर्फ एक सय २८ उजुरी परेकामा एक सय १२ वटाको मिलापत्र गरिएको,१५ वटा अदालत पठाइएको तथा एक उजुरी प्रकृयामा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सो एक महिनामा लागूऔषधसम्बन्धी ६० वटा मुद्दा दर्ता भएका तथा एक महिला र ९० जना पुरुष गरी ९१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुबाट लागूऔषध चरेश १८ किलो २३३ ग्राम १०५ मिलिग्राम,खैरो हेरोइन १११ ग्राम ६१९ मिलिग्राम,गाँजा २५ ग्राम र ट्याब्लेट ९७ वटा बरामद गरिएको जनाइएको छ ।
त्यस्तै,अदालतको फैसला कार्यान्वयनअन्तरगत विभिन्न मुद्दामा फरार रहेका ९६ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई ६९ वर्ष तीन महिना तीन दिन कैद भुक्तानका लागि पठाइनुका साथै रु.१५ लाख ९३ हजार २२१ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।















