धनगढी । धनगढी उपमहानगरपालिकामा यही असोज ८ गतेदेखि जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
जेई संक्रमणको जोखिम बढेपछि उपमहानगरका १९ वटै वडामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई जेईविरुद्धको खोप लगाइनेछ ।
उपमहानगरले लक्षित उमेर समूहका १ लाख ३ हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।
उनका अनुसार धनगढीमा हालसम्म जेईका ३ जना संक्रमित फेला परिसकेका छन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अभियान सञ्चालन गर्न लागिएको हो ।
खोप अभियानका लागि उपमहानगरका १९ वटै वडामा १२४ वटा खोप केन्द्र स्थापना गरिएको छ । अभियान सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको स्वास्थ्य शाखाले जनाएको छ ।
मंगलबार भलमन्सा तथा सरोकारवाला निकायसँग अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन छलफलसमेत गरिएको थियो । खोप स्वास्थ्य कार्यालय कैलालीमा आइसकेको र सम्बन्धित खोप केन्द्रमा पठाउने तयारी भइरहेको उपमहानगरले जनाएको छ ।















