धनगढी । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा धनगढी विमानस्थल परिसरमा वृक्षारोपण तथा पर्यटन क्षेत्रका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
होटल व्यवसायी संघ कैलाली, नाट्टा सुदूरपश्चिम प्रदेश संघ र होटल संघ नेपालको संयुक्त आयोजनामा तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा विमानस्थल परिसरमा वृक्षारोपण गरिएको थियो । त्यसपछि प्रदेशको पर्यटन प्रवद्र्धन, विमानस्थलको भूमिका र पर्यटन व्यवसायका सम्भावनाबारे अन्तरक्रिया तथा छलफल गरिएको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव दीर्घनारायण कोइराला, पर्यटन इकाइ कार्यालयका प्रमुख डबलबहादुर बोहरा, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर, धनगढी विमानस्थलका कार्यालय प्रमुख, विभिन्न एयरलाइन्सका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सुदूरपश्चिमको पर्यटन विकासका लागि हवाई सेवाको विस्तार, पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय गन्तव्यको प्रचार–प्रसार तथा निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।















