धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका डा. मिश्र पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा। मिश्रले समग्र स्वास्थ्य क्षेत्रका समस्या, चुनौती र नागरिकका आवश्यकतालाई पार्टीमार्फत नीति निर्माणको तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक र सामाजिक कारणले गुणस्तरीय उपचार प्राप्त गर्न नसकेका आम नागरिकका स्वास्थ्यसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउने उनले बताएका छन्।
यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी, प्रा. डा. जगदीशचन्द्र पोखरेल, अधिवक्ता सीताराम केसी, डा.प्रदीप मिश्र र केशव निरौला निर्वाचित भएका छन्।
पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यका पाँच पदका लागि भएको निर्वाचनमा ३६ जनाले उम्मेदवारी दिएका थिए। सीमित पदका लागि ठूलो संख्यामा उम्मेदवारी परेसँगै उक्त निर्वाचनलाई पेशागत क्षेत्रका उम्मेदवारबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो।






















