महोत्तरी- नेपाल प्रहरीले महोत्तरीको मटिहानीबाट भारतीय नक्कली नोटसहित भारतका २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिलकुमार शास्त्री र सीतामढी चोरौत पूर्वी वडा नं.१ बस्ने वर्ष २४ को मनीषकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलले मटिहानी नगरपालिका वडा नं. ८ स्थित धानबजार चौकमा दुई जना भारतीय नागरिकहरू भारतीय नक्कली नोट बोकी सामान खरिद गर्न आएको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको बताए ।
शंकास्पद अवस्थामा पक्राउ परेका दुवैजनालाई खानतलाशी गर्दा सुनिलकुमार शास्त्रीको साथबाट तीन हजार दुई सय भारतीय नक्कली नोट, भिवो कम्पनीको मोबाइल र निजको आधार कार्ड फेला परेको र मनिषकुमार पासवानको साथबाट रेडमी कम्पनीको मोवाईल र निजको आधार कार्ड बरामद भएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।
शास्त्रीको साथबाट भारतीय रुपैया पाँच सयको नोट दुई थान, दुई सयको नोट पाँच थान, एक सयको नोट दुई थान बरामद भएको हो । सूचनाको आधारमा तत्कालै प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिएको हो ।













