धनगढी- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीमा नेता, कार्यकर्तासँग भेटघाटमा व्यस्त रहनु भएको छ। दुई दिनदेखि धनगढीस्थित आफ्नो निजी निवासमा प्रधानमन्त्री देउवाले विभिन्न जिल्लाका नेतासँग भेटघाट गर्नुभएको हो। भेटघाटका लागि नेताहरू पालैपालो प्रधानमन्त्रीको निजी निवासमा पुगिरहेका छन्। मङ्गलबार उनले कैलाली, कञ्चनपुरका नेतासँग निवासमै भेटघाट गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘आज दिनभर उहाँ भेटघाटमै व्यस्त हुनुहुन्छ,’ स्वकीय सचिव देउवाले भने ।
सोमबारसमेत प्रधानमन्त्रीले विभिन्न नेता र असन्तुष्ट पक्षसँग भेटघाट गर्नु भएको थियो। खास गरेर टिकट वितरणपछि असन्तुष्ट देखिएका र स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेतालाई निवासमै बोलाएर प्रधानमन्त्रीले भेटघाट गरेका छन् । टिकट वितरणपछि असन्तुष्ट देखिनु भएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले सोमबार नै प्रधानमन्त्रीसँग भेट गरे । जोशीले कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्रीले नेता, कार्यकर्तालाई निवासमै भेट गरेर चुनावी अवस्थाका बारेमा जानकारी लिएका हुन् । यसैगरी, उहाँले भेटमा नेता, कार्यकर्तालाई नेपाली कांग्रेस पार्टी र गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । डडेलधुरामा आयोजित चार दिने चुनावी प्रचारप्रसारको कार्यक्रम सकेर आइतबार साँझ प्रधानमन्त्री देउवा धनगढी फर्किनु भएको थियो। त्यसपछि, दुई दिनदेखि धनगढीस्थित आफ्नो निवासमा बसेर नेता तथा कार्यकर्तासँग भेट गरे । बुधबार भने उहाँ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला र बैतडी जाने कार्यक्रम रहेको छ।













