कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले देशमा रोजगारी स्थापना गर्न एमालेको सरकार बन्नुपर्ने बताएका छन् ।
मंगलबार गोदावरी नगरपालिकाका विभिन्न वडाहरुमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा बोल्दै उनले एमालेको नीति देशमा उद्योग स्थापना गरि रोजगारी प्रदान गर्ने रहेको बताएका हुन् ।
एमालेको सरकारले देशमा रोजगारी स्थापना गर्नका लागि देशका विभिन्न क्षेत्रमा उद्योगको सिलन्यास गरिसकेको बताउँदै उनले गठबन्धन सरकारले जनताको खुशीका दिन देख्न नसकेर सबै योजना रोकेको बताए ।
काठमाडौं र सुदूरपश्चिमको शैक्षिक गुणस्तर एउटै बनाउन शिक्षा क्षेत्रका संघ–सस्था र राजनीतिक दल एक ठाउमा बस्नु पर्ने भट्टले बताए । संस्थागत र निजी विद्यालयको विकासका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ ।
अब्यवस्थित, सुकुम्बासी र भूमिहीनको ब्यवस्थापनका लागि एमालेले सरकारको नेतृत्व गर्न आवश्यक रहेको बताउँदै उनले गठबन्धनले सरकारले भूमि आयोग माफर्त ब्यवस्थापन गर्दा अवरोध गरेको आरोप लगाए ।
भूमि आयोगले लालपुर्जा बितरण गर्ने तयारी गरिरहेका बेला गठबन्धन सरकारले आयोग बिगठन गरेको आरोप लगाउँदै उनले भने, ‘भूमिको समस्या समाधान एमाले सरकारले मात्रै गर्न सक्छ ।’ उनले गठबन्धन सरकारले लालपूर्जा वितरणका नाममा जनताबाट पैसा असुल गर्न खोजेको आरोप लगाए । कैलालीका केही ठाउँमा एक कट्टाको लाखौं रकम समेत तोकेको उनले बताए ।
यस्तै क्षेत्र नम्वर ४ प्रदेश (ख) का उमेदवार हरिसिंह साउदले जनताका आवश्यकता पूरा गर्न एमालेको सरकार बन्नुपर्ने बताए । उनले जनताको शिक्षा स्वास्थ्य र आवासमा सहज पहुँच बनाउन मंसिर ४ पछि एमालेको सरकार बन्न आवश्यक रहेको बताए ।
गोदावरी नगरपालिकाको ५ वर्षे कार्यकालमा जनतालाई शिक्षा स्वास्थ्यको सहज पहुँचमा ल्याएको दाबी गर्दै उनले भूमि व्यवस्थापन, बाटोको स्तरोन्नति र कटान नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।
गोदावरी नगरपालिकाका विकट गाउँमा बाटो, विद्युतीकरण, स्वास्थ्य सेवालगायतका सेवा पुर्याएको र बाँकी रहेका विकासका काम अबका ५ वर्षमा पूरा गर्ने उनले आश्वासन दिए ।













