डोटी- डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ। खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मंगलबार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो। ६. ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए।
जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहोरालाई चार लाख, विस्नादेवी बोहोरालाई तीन लाख र महावीर बोहोरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। त्यस्तै घरमा पूर्ण क्षति पुगेका १८ परिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ।
सायल गाउँपालिकामा ३०र३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई आज राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए।
भौतिक क्षतिको मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध पनि गरिएको छ। भूकम्पबाट डोटीसहित आसपासका जिल्लामा घर चर्केका तथा भत्केका छन्।















