काठमाडौ- नागरिकता प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै दुई जनाले आयोगमा उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।
आयोगमा उजुरी परेलगत्तै आयोगले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो । त्यसैअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साताको समयावधि दिएर स्पष्टीकरण सोधेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
उनले भने, ‘तपाई बिरुद्ध आयोगमा उजुरी परेको छ । तपाईलाई लागेको आरोप के सत्य हो रु यदि सत्य हो भने तपाइको उम्मेदवारी आयोगले खारेज किन गर्नु नपर्ने रु स्पष्ट प्रमाणसहित एक हप्ता भित्र स्पष्टीकरण पेस गर्नुहोला भन्ने व्यहोरासहितको स्पष्टीकरण सोधेका छौ ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार लामिछानेको सचिवालयलाई स्पष्टीकरण पत्र बुझाइएको जनाएको छ । उनले एक साता भित्र आयोगमा परेको उजुरीबारे स्पष्टीकरणको जवाफ प्रमाणसहित पेस गर्नुपर्नेछ ।













