धनगढी- यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका निम्ति स्थानीय सरकारलगायत सरोकारवाला निकायलाई संवेदनशिल बन्न आग्रह गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको एक्लो प्रयासले मात्र मुद्दाहरु स्थापित नहुँने हुँदा स्थानीय सरकार तथा सरोकारवाला निकायलाई जाग्न आग्रह गरिएको छ । निलहिरा समाज (ब्लु डामण्ड सोसाइटी) ले बुधबार धनगढीमा भएको छलफल तथा अन्त्ररक्रिया कार्यक्रममा यस्तो आग्रह गरेको हो ।
निलहिरा समाजकी अध्यक्ष पिकीं गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्दामा हरेक तहतप्कामा छलफल गर्न आवश्यक रहेको बताइन् । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अधिकारका विषयमा कानुनी व्यवस्था हुँदा पनि धेरैलाई थाह नहुँदा कार्यान्वयन गर्न समस्या हुने गरेको छ’, उनले भनिन्, ‘यसका लागि स्थानीय सरकार लगायत सबै निकाय जाग्न आवश्यक छ ।’
कार्यक्रममा निलहिरा समाजका कार्यक्रम संयोजक सञ्जय शर्माले मानवअधिकारको विषयमा संवेदनशिल भैदैन तवसम्म समाजमा हिंसा र विभेदका घटना नरोकीने बताए । उनले स्थानीय सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मुलधारमा ल्याउन प्रत्येक वडाले यौनिक तथा लैंगिक अल्पसंख्यक समन्वय केन्द्र बनाएर यो समुदायका अधिकारहरुको सम्बोधन गर्न आग्रह गरे । उनले निलहिरा समाजले देश भर आफ्नो कार्यक्रमहरु सञ्चालन गरिहरहेको बताए ।
‘निलहिरा समाजका देश भरका सात प्रदेश र विभिन्न सहरमा ३५ वटा शाखा रहेका छन्’, उनले भने, ‘यी कार्यालयहरुमा ७ सय ५० कर्मचारीहरु कार्यरत रहेका छन् ।’ मानव अधिकार उल्लघंन, मिडियासंग वकालत, काठमाण्डौँ र कर्णाली प्रदेशमा कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको उनले बताए । यी लगायत जनचेतनाका कार्यक्रहरु, क्षमता अभिवृद्धिका कार्यक्रहरु, धार्मिक गुरुसंग वकालत र अध्ययन अनुसन्धान समेत गरिरहेको शर्माले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेका छन् ।
संविधानमा आफ्नो समुदायका अधिकारका कुराहरु उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको बताएका थिए । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकहरुलाई हरेक सरकारी निकायमा सेवा लिन समेत समस्या हुने गरेको शर्माले जनाएका हुन् । कार्यक्रममा सरकारी तथा गैर सरकारीका प्रमुख एवम् प्रतिनिधिलगायत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकहरुको सहभागिता रहेको थियो ।















