धनगढी- आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन्। कैलालीमा सबै निर्वाचन स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाका दुई सय ३७ वटै मतदान स्थलमा निर्वाचनका लागि आवश्यक सामग्री लिएर कर्मचारीहरु खटिएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले जानकारी दिए। कर्मचारीहरुले बुथ निर्माणलगायत व्यवस्थापनको काम गरिरहेका छन्। निर्वाचनका लागि पाँच हजार ५२ कर्मचारी तथा दुई हजार पाँच सय स्वयंसेवक परिचालन गरिएको निमित्त प्रमुख भट्टले बताए। यहाँ छ सय २९ वटा मतदान केन्द्र तोकिएका छन्।
धनगढीको पञ्चोदय माविको मतदान स्थलमा महिला कर्मचारीले नेतृत्व गरिरहेका छन्। निर्वाचन अधिकृतलगायत सबै आठ कर्मचारी महिला रहेका निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकृतको रुपमा मीना जोशी खटिएकी छन्। यो मतदान स्थलमा करिब सात हजार मतदाता छन्।













