बाजुरा- बाजुरामा एक विद्यार्थी नेताको कुटपिट गरी हत्या गरिएको छ । मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्य थापाले बताए । अयडी अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष पनि हुन् ।
आइतबार दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको बताइएको छ । आइतबार एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएपछि स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो । सुरेन्द्र अयडी कांग्रेसका कार्यकर्ता हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















