काभ्रेपलान्चोक- बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ।
हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताए। बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानीयवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर पमुख शान्तिरत्न शाक्यले बताए। प्रतिस्थापन गर्नुअघि मूर्तिलाई नाला तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उनले बताए।
मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समय अघि नै काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको सूचना पाए पनि अहिले ल्याउने तयारी थालिएको भजन खलका अध्यक्ष श्रेष्ठले बताए। पुरातत्त्व विभागको सक्रियतामा मन्दिरको पुनर्निर्माणपछि मात्र पूर्ण सुरक्षा र व्यवस्थापनका साथ मूर्तिको प्रतिस्थापन गर्न लागिएको उनको भनाइ छ।













