धनगढी- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान धनगढीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी सुरुवात गरिएको छ । हरेक वर्ष नोभेम्बर २५ गतेदेखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि मनाइँदै आइएको छ ।
दलित महिला अधिकार मञ्च, महिला मानव अधिकार रक्षक सञ्जाल र ओरेक नेपालको आयोजना धनगढीमा पनि अभियान सुरु भएको हो ।
सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु भएको हो । दलित अधिकार मञ्चकी अध्यक्ष साबित्रा घिमिरेले पितृसत्तात्मक सोचका कारण अझै पनि समाजमा महिलामाथि हुने विभेद र हिंसा घट्न नसकेको बताइन् ।

लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।

अभियान शुभारम्भ कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा समेत र्याली सहित कार्यक्रमको आयोजना गरिएको थियो ।













