धनगढी- बाजुराको त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतनदिप ऐडीको कुटपिटबाट मुत्यु भएको ९ दिनपछि आज (सोमबार) शव उठाइने भएको छ। श्रदाञ्जलीका लागि उनको शवलाई खुलामंचमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए।
गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको न्याय हेल्थअस्पताल बयलपाटा अछाममा उपचारको क्रममा मंसिर ५ गते मृत्यु भएको थियो।
ऐडी नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य थिए। नेपाली कांग्रेसका कार्यकर्ताले दिउँसो बुथ कब्जा गर्न खोज्दा प्रहरीको गोली चलाएको थियो। प्रहरीको गोलीले एक जना कांग्रेस कार्यकर्ता मारिएका थिए।
त्यसपछि आक्रोशित कांग्रेस कार्यकर्ताले ऐडीको कुटपिट गरी हत्या गरेको आरोप एमालेले लगाएको छ। प्रहरी प्रशासनको संरक्षणमा सत्ता गठबन्धनले योजनावद्ध ढंगले ऐडीको हत्या गरेको भन्दै एमालेले बाजुरामा विरोध प्रदर्शन जारी राखेको छ।















