टीकापुर- टीकापुर जेसीजले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावललाई सम्मान गरेको छ । टीकापुर जेसीजको साप्ताहिक कार्यक्रम अन्तर्गत बृहत् रक्तदान कार्यक्रममा हालसम्म ५०औं पटक रक्तदान गरेको भन्दै अध्यक्ष रावललाई जेसीजले सम्मान गरेको हो । दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका रावल नागरिक दैनिकका कैलाली सम्बाददाता तथा डल्फिन मिडिया प्रा।लि।द्धारा सञ्चालित हाम्रोपत्रका प्रधान सम्पादक हुन् ।
रक्तदान कार्यक्रमका संयोजक पदमबहादुर शाहीले रावललाई स्वतः स्र्फुतरुपमा ५० औं पटकसम्म रक्तदान गरेको भन्दै सम्मान गरिएको बताए । ‘एक दुई पटक रगत दिन नमान्ने हाम्रो समाजमा ५० औं पटकसम्म नियमित रक्तदान गर्नु सामान्य कुरा होइन’ शाहीले भने ‘अरु युवाहरुलाई प्रेरणा मिलोस् भन्नका लागि समेत हामीले उहाँलाई सम्मान गरेका हौं ।’
रक्त समूह बी पोजेटिभ रहेका रावलले आत्मसन्तुष्टिका लागि नियमित रुपमा रक्तदान गर्दै आएको बताए । सम्मानित भएकोमा खुशी व्यक्त गर्दै रावलले भने ‘रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र कसैको ज्यान बचोस् भन्ने चाहना भएर नियमित रक्तदान गर्दै आइरहेको छु ।’ ‘अरु बेला सुई लगाउन निकै डराउने म रक्तदान गर्दा भने आनन्द महशुस गर्छु’ रावलले भने ‘स्वास्थ्यले साथ दिए सम्म नियमित रुपमा रक्तदान गर्नेछु ।’
रावलले रक्तदान गरेको ९० दिन पुगेपछि रक्तदान गर्दै आएकोमा अहिले भने आवश्यकता परेको बेला रगत दिने गरेको बताए । ‘पहिले ९० दिन कटेपछि आफै गएर दिन्थे’ उनले भने ‘कतिपय बेला हाम्रो रक्त समूहको रगत नपाएर विरामीलाई समस्या हुने गरेको थाहा पाएपछि आवश्यकता परेको बेला दिने गर्छु ।’













