धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा मन्दिर नजिक ५० लाख रुपैयाँको लागतमा गौशाला निर्माण गरिने भएको छ । उपमहानगरपालिकाले गौशाला निर्माण गर्नका लागि इस्कोन नेपालसंग सम्झौता गरेको छ ।
उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले ब्रम्हचारी कृष्णराज भट्टको अध्यक्षतामा उपभोक्ता समिति निर्माण गरि गौशाला निर्माणको कार्य प्रारम्भ भएको जानकारी दिए । उपमहानगरपालिका भित्रलाई विभिन्न चार वटा सेक्टरमा विभाजन गरि छाडा चौपाया व्यवस्थापन गर्ने नीति अनुरुप बेहडाबाबामा गौशाला निर्माणका लागि सम्झौता गरिएको उनले बताए ।
साथै यसै आर्थिक वर्षमा ४ वटा गौशाला निर्माण गर्ने योजना रहेको नगरप्रमुख हमालले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाका ईन्जिनियर कमल ओझाको नेतृत्वमा देवरिया गौशाला, फुलवारी गौशाला समितिका पदाधिकारीहरूलाई केही दिन अगाडि भारतको कानपुर गौशाला सोसाइटी अध्ययन भ्रमणका लागि पठाइएको थियो । सोही अनुरूप धनगढीमा गौशाला निर्माण कार्य गरिने नगरप्रमुख हमालले बताए ।













