काठमाडौं- कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।
पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो ।
‘शारीरिक बन्धक बनाएर न्यायाधीशले यौन शोषण गरिरहेको उजुरी हामीकहाँ एक हप्ता अगाडि आइपुगेको थियो । हामीले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानविन गर्न निर्देशन दिएका छौं’, मानव अधिकार आयोग स्रोतले भन्यो, ‘न्यायाधीशको विषय भएकाले न्यायापरिषदलाई पनि पत्र पठाएर यस विषयमा अनुसन्धान गर्न आग्रह गरेका छौं ।’
मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । महिला आयोगका अनुसार, पीडित महिला ०७५ देखि नै न्यायाधीशसंग थिइन् । आयोग स्रोत भन्छ, ‘हामीले न्यायाधीशलाई पनि सम्र्पक गरेर यस विषयमा बुझेका थियौं ।’ महिला आयोगका एक पदाधिकारीका अनुसार, पीडितलाई मनोवैज्ञानिक परामर्श दिने काम समेत भइरहेको छ । उनले बलात्कारको विषय भएकाले प्रहरीलाई उजुरी फरवार्ड गरिएको बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले समेत सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको बताए ।















