काठमाडौं- रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको जानकारी दिए ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाइएको हो ।
अध्यादेश माथि राष्ट्रपतिको निर्णयबारे पूर्वानुमान गर्न नसकिने सञ्चार विज्ञ ढकाल बताए । सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ ।
सरकारले भने हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउन अध्यादेश ल्याएको भन्दै बचाउ गरिरहेको छ। अर्कोतर्फ सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकै महामन्त्रीसहितका केही नेताहरुले पनि अध्यादेशको विरोध गरिरहेका छन् ।













