कैलाली- टीकापुर नगरपालिकाका उप–मेयरका विरुद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीले आपत्ति जनाएको छ । पशु हाटबजारको टेन्डर आह्वान नगरी आफू अनुकूल हुने गरी निर्णय गरेको, शिक्षा समिति गठनका लागी कार्यपालिकामा कुनै निर्णय नगरी आफू अनुकूलका मानिसहरू नियुक्त गरेको, बैठक सकिए पछि कर्मचारीलाई डर त्रास देखाई निर्णय थपघट गर्न लगाएको लगायतका विषयमा युवा सङ्घको गम्भीर ध्यान केन्द्रित भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।
यस्ता गलत कुराहरूको विरोध गर्दा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य जनक खड्का र नेकपा एमाले कैलाली जिल्ला सदस्य प्रकाश खड्का विरुद्ध प्रहरीमा उजुरी दिई घरमा प्रहरी पठाएर त्रसित र आतङ्कित पार्ने कार्य गरेको भन्दै विज्ञप्ति मार्फत निन्दा गरिएको छ ।
जनविरोधी गतिविधिहरूलाई तत्काल रोकी विधिको शासन कायम गर्न र उनीहरू विरुद्ध टिकापुर प्रहरीमा दर्ता भएको मुद्दा विना सर्त फिता लिनुपर्ने अनुरोध गरेका छन् । अन्यथा युवा सङ्घले चरणबद्ध आन्दोलन गर्ने छ । राष्ट्रिय युवा संघ नेपाल कैलालीका संयोजक शिवराज चन्द द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।














