धनगढी- कैलालीका राजनीतिज्ञहरूले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेश समाजलाई पुनः जोड्ने कडी भएको बताएका छन्। कैलाली ३ का प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले अध्यादेश सही भएको बताए । उनले भने, “चुनावमा रेशम चौधरी निर्दोष हो भनेर भोट माग्ने अनि अहिले अध्यादेशको विरोध गरिरहेको देख्दा दुःख लागेको छ। यस्तो दुईखालको अभिव्यक्ति शोभनीय हुँदैन।”
उनले टीकापुर घटनामा चौधरीको संलग्नता छैन भनेर जनताले तीन पटक फैसला गरिसकेको दाबी गरे । उनले जनताले २०७४ मा चौधरीलाई नै प्रतिनिधि सभामा जिताएको, २०७९ को स्थानीय तहमा कैलालीका बहुमत पालिकाले उहाँ संरक्षक रहेको पार्टीका उम्मेदवारलाई जिताएको बताए ।
कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी र पत्रकार मातृकाप्रसाद तिमिल्सेनाले द्वन्द्व मेटाउने प्रयासस्वरूप सरकारले अध्यादेश ल्याएको बताए । उनले भने, “यहाँको भूगोल, यहाँको सामाजिक द्वन्द्व नबुझ्नेले अध्यादेशको विरोध गरेका हुन्, अध्यादेश लागू भएमा जनताको आक्रोश कम हुन्छ। सामाजिक द्वन्द्व निरुपण गर्न मद्दत पुग्नेछ। त्यसैले जनताको फैसला अनुमोदन होस्।”
पत्रकार तिमिल्सेनाले अध्यादेश प्रमाणीकरण भएपछि रेशम चौधरी रिहा भएर सामाजिक सद्भाव कायम गर्न आफैँ पनि संलग्न हुने विश्वास व्यक्त गरे । उनले भने, “अध्यादेश लागू भएन र रेशम चौधरी रिहा हुनुभएन भने टीकापुर क्षेत्र सधैँ नदेखिने द्वन्द्वमा फस्छ। त्यसैले अध्यादेश लागू हुनुपर्छ।” गोरखापत्रबाट















