धनगढी – कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ सुडामा ना ७ ख ६५२१ नम्बरको बसको ठक्करबाट आज बिहान करिब ७ बजेतिर कञ्चन विद्या मन्दिरमा स्नातक प्रथम वर्षमा अध्ययनरत २१ वर्षीय कविराज बैजको मृत्यु भएको हो ।
सिसैयास्थित घरबाट साइकलमा कलेजतर्फ आइरहेका बेला दार्चुलाको गन्ना गइरहेको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) चक्र बहादुर शाहले बताए ।
बसको ठक्करबाट बिद्यार्थीको मृत्यु भएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गमा तनाव उत्पन्न भएको छ । पीडित परिवारलाई उचित क्षतिपुर्ति र दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थी र अभिभावकहरुले राजमार्ग अबरुद्ध गराएका छन् । बिहानदेखि अबरुद्ध सडक ४ बजे सम्म पनि खुल्न सकेको छैन् ।
‘बिहान देखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ,’ डिएसपी शाहले भने तर अहिले सम्म खुलाउन सकिएको छैन् । हामी अहिले छलफलमै छौ ।’ बस चालक सुनर्या गाउँपालिका–२ का सन्तोष ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













