काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसदहरू धर्नामा बसेका छन्। पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका १६ जना सांसदहरू बुधबार माइतीघरमा मण्डलामा धर्ना दिएका हुन्। उनीहरूले रेशम चौधरीसहित निर्दोष थारूहरूको रिहाइ हुनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण हुनुपर्ने प्लेकार्डसहित धर्नामा बसेका हुन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्ने बताइन्। उनले माइतीघरमा नवौं दिन र देशभरि नै थारूहरू स्वतस्फुर्तरूपमा धर्ना बसिरहेका बताइन्। ‘रेशमजीको रिहाइका लागि देशभरि थारूहरू धर्नामा बस्नुभएको छ। माइतीघरको धर्ना पनि उहाँ नछुटेसम्म जारी रहन्छ,’ उनले भनिन्। उनले निर्दोष थारूहरूलाई झुठा मुद्दा लगाएर राजबन्दी बनाइएको भन्दै उनीहरूको यथाशिघ्र रिहाइ हुनुपर्ने बताइन्।
त्यस्तै रेशम चौधरीका बुबा लालविर चौधरीले न्यायका लागि धर्नामा बसेको बताए। ‘हामी अन्यायका विरुद्धमा यहाँ धर्नामा बसेका छौं। अपराध गर्ने मान्छेलाई कारबाही होस् र निर्दोषहरूको रिहाइ होस् भनेर हामीले चाहेका हौं,’ उनले भने। त्यस्तै प्रतिनिधिसभा सांसद गंगा चौधरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरे। उनले अध्यादेशमार्फत् निर्दोष थारूहरूले न्याउने पाउने भन्दै अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरेका हुन्।















