काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार बालुवाटार सर्ने भएका छन्। सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनी शेरबहादुर देउवाले निवास नछोडेकाले बालुवाटार सर्न पाएका थिएनन्। अब बिहीबार सर्ने तयारी भएको प्रधानमन्त्रीको सुरक्षा स्रोतले जानकारी दियो।
‘भोलि बिहीबार बालुवाटार सर्ने तयारी छ, त्यसपछि सबै भेटघाट त्यहाँ र सिंहदरबारबाट हुनेछ,’ स्रोतले भन्यो।प्रधानमन्त्रीले बुधबार बधाई र शुभकामना कार्यक्रम पनि स्थगित गरेको छ। प्रधानमन्त्री नियुक्त भए लगत्तै बधाई दिन निवास जाने संख्या एक्कासी बढ्दा मानिसको व्यवस्थापन गर्न सचिवालय र सुरक्षाकर्मीलाई हम्मे परेको थियो।
मंगलबार मात्र ६ सय बढीले भेटेर बधाई र शुभकामना दिएका थिए। जनताको काम गर्न सोच्नुपर्ने, योजना बनाउनुपर्ने बेला शुभकामना र बधाईमै समय बितेपछी सचिवालयले बुधबार अत्यावश्यक बाहेकका भेट बन्द गरेको जनाएको छ।















