कञ्चनपुर– कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, सडक सञ्जाल, कोल्ड स्टोर, स्वच्छ खानेपानी र पर्यटन विकास गर्ने लगायतका गौरवका प्रस्ताव पारित गर्दै बेलडाँडी गाउँपालिकाको १२ औँ हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
कञ्चनपुर तराईको सुगम जिल्ला भएपनि बेलडाँडी विकासका हिसाबले पछाडि परे भन्दै यस पटक गौरवका योजना पारित गर्दै हिउँदे अधिवेशन सकिएको हो ।
बिहीबार सम्पन्न गरिएको १२ औँ अधिवेशन बाट बेलडाँडीमा शीतगृह (कोल्ड स्टोर) निर्माण गर्ने , पालिकाका विभिन्न वडाहरूमा किसानका खेतबारीमा बनेको सिमसार डुबानको समस्या समाधान गर्ने, रिङ रोड, खेलमैदान, कालिकिच ताललाई पर्यटकीय क्षेत्र विकास र खानेपानीको बृहत् योजना लगायतका निर्णय पारित गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र रानाले बताए ।
बेलडाँडीको प्रमुख आयस्रोत कृषि भएकाले पालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिका प्रमुख रानाले बताए । कृषकहरूको उत्पादकत्व वृद्धिमा प्रोत्साहन दिन कोल्ड स्टोर स्थापनाका लागि महत्त्वका साथ योजना अघि बढाइएको प्रमुख रानाले बताए ।
कृषि उत्पादनलाई सहज रूपमा बजार पहुँच र यातायात सेवा गुणस्तरीय बनाउन रिङ रोडको योजना ल्याइएको उनले बताए ।
जनतालाई स्वच्छ खानेपानी उपलब्ध बनाउन खानेपानीको बृहत् योजना र खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेल मैदानको व्यवस्था गर्ने र कालिकिच ताललाई पर्यटकीय क्षेत्र विकास गर्ने योजना बेलडाँडी गाउँपालिकाले पारित गरेको पालिका प्रमुख रानाले बताए ।













