धनगढी– सुदूरपश्चिम प्रदेशसभाले आज (शनिबार) पनि सभामुख पाउन सकेन । बेलुका ६ बजे बसेको प्रदेशसभा बैठकमा सभामुख चयन प्रक्रियामा दुबै उम्मेदवारले बहुमत पाउन सकेनन् ।
सभामुखका लागि माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली काङ्ग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । सभामुख चयन प्रक्रियामा नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि कुनै पनि उम्मेदवारले बहुमत पुर्याउन नसकेका हुन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।
बैठकमा विशेष समयमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्षमण किशोर चौधरीले आफूहरूको माग सम्बोधन नभएको भन्दै दुबै उम्मेदवारलाई मत नदिने बताएका थिए । सोही अनुसार नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष दुबैमा मत दिएनन् ।
जसका कारण सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २२ मत मात्रै पाए । कांग्रेसका उम्मेदवार रावलले आफ्नो पार्टी, नेकपा एकीकृत समाजवादी गरि २२ मत पाए । यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीका गरि २३ जना सांसद छन् । ज्येष्ठ सदस्य शिवराज भट्टले सभा चलाइरहेको हुँदा उनले मत दिन पाएनन् ।
यस अघि बिहीबार पनि दुबै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । विहीबार नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई मत दिएको थियो । यद्यपि उसका दुई सांसद अनुपस्थित र एक मत बदर भएपछि भण्डारी सभामुख हुनबाट रोकिएका थिए ।













