काठमाडौं- सर्वोच्चको संवैधानिक इजलासले रवि लामिछानेको पुरानो नागरिकतालाई अवैधानिक ठहर गरेसँगै उनले गरेको कोर्ट म्याारिजसमेत बदर भएको छ।
लामिछाने र पौडेलबीच २०७७ साल माघ ८ गते काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज भएको थियो।
कोर्ट म्यारिज बदर भएर निकितासँगको कानुनी सम्बन्ध शून्यमा परिणत भए पनि उनीहरुको सामाजिक र साँस्कृतिक सम्बन्ध भने कायम रहन्छ। कानुनी रुपमा विवाह कायम गराउन उनले नेपाली नागरिकता पुनःप्राप्ति गरेर फेरि काठमाडौँ जिल्ला अदादतमा निवेदन दिनुपर्छ।
२०५० फागुनमा काठमाडौँ जिल्ला प्रशासनबाट लिएको नागरिकता २०७० अमेरिकी नागरिकता पाएपछि अवैधानिक भएको ठहर सर्वोच्चले गरेको छ। अमेरिकी नागरिकता पाएपछि उनले नेपाली नागरिकताका आधारमा गरेका सबै कानुनी काम अवैधानिक रहेको ठहर सर्वोच्चले गरेको हो।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्ति गर्नुपर्ने भए पनि नगरेको र नागरिकता ऐनको दफा १० (१) अनुसार अवैध भएको नागरिकताका आधारमा प्रतिनिधिसभा सदस्य पदका लागि दिएको उम्मेदवारी खारेज गरेको छ। त्यसैको आधारमा उनले पौडेलसँग गरेको कोर्ट म्यारिजसमेत बदर भएको हो।
लामिछानेले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपालमा २०७५ सालमा लिएको पासपोर्ट पनि अवैध भएको छ। उनलाई दोहोरो पासपोर्ट लिएको कसुरसँगै सरकारी कागजात कीर्ते गरेको अभियोगमासमेत मुद्दा चलाउन सकिने कानुनका जानकारहरु बताउँछन्।















