काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।
अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए। अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो ।
महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए।













