कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा दोस्रो बेलौरी महोत्सव हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेलौरी महोत्सव हुने भएको हो । २६ माघदेखि बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवम् बेलौरी नगरपालिकाको सह–आयोजनामा महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउँदले क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गर्न लागेको बताए । यस अघि बेलौरी उद्योग वाणिज्य संघले ०७५सालमा पहिलो पटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो ।
बिचमा कोरोना महामारीदेखि अन्य विविध कारणले मेला महोत्सव सञ्चालन हुन सकेको थिएन । यस पटक सञ्चालन गर्ने लागेको अध्यक्ष साउँदले बताए । ‘यो बेलौरी बजार स्थापना भएको ५०औँ स्वर्ण अवसरमा समेत हामीले मेला सञ्चालन गर्न खोजेका छौँ, ‘उनले भने,‘एकातिर बजारको स्वर्ण अवसर, अर्कातिर क्षेत्रकै विकासका लागि मेला महोत्सव गर्न लागेका छौँ ।’
महोत्सवको आवश्यक सबै तयारी भइरहेको बताए । महोत्सवमा झन्डै एक सय स्टल हुने छन् भने टिकटमा समेत विशेष सहुलियत हुने आयोजकले जनाएको छ । फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा लाखौँले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।















