काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको नागरिकताले वैधानिकता पाएको छ । यसअघि विदेशी नागरिकता लिएपछि निश्क्रिय भएको नेपाली नागरिकतालाई उनले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा गएर वैधानिकता लिएका हुन् ।
नागरिकतालाई वैधानिक बनाउनका लागि लामिछानेले जिल्ला प्रशासनमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा उनको नागरिकतालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैधानिकता प्रदान गरेको हो ।
चितवन निर्वाचन क्षेत्र – २ बाट चुनाव जितेर सांसद हुँदै उपप्रधानसहित गृहमन्त्री बनेका लामिछाने नागरिकता विवाद मुद्धामा दोषी ठहरिएका थिए । उक्त मुद्धामा शुक्रबार सर्वोच्च अदालतले रविलाई दोषी ठहर गर्दै सांसदसहित मन्त्री पदबाटसमेत बर्खास्त गर्ने फैसला सुनाएको थियो ।













