धनगढी- धनगढीस्थित मोहनापुल अत्तरिया ६ लेन सडकमा राखिएका डिभाइडर हटाउन थालिएको छ। मोहनापुल अत्तरिया ६ लेन सडकमा सवारी दुर्घटना बढ्दै गइरहेको कारण दुर्घटना न्यूनीकरण गर्न सडकमा राखिएका डिभाइडर हटाउन थालिएको हो।
डिभाइडरले सवारी दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वय, धनगढी उपमहानगरपालिकाको सहकार्य र मोहना अत्तरिया ६ लेन सडक कार्यालयको सहयोगमा डिभाइडर हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा सडकमा नै हुने पार्किङलाई हटाइने उद्देश्य अनुसार सो कार्य आइतबार देखी सुरु भएको छ।
यस्तै साइकल चालकले सडक प्रयोग गर्दा बायाँ लेनको प्रयोग, साइकलमा रिफ्लेकटिभ स्टिकरको प्रयोग, सडक क्रस गर्दा अपनाउनुपर्ने सावधानी र रातिको समयमा टल्कने ज्याकेटको अनिवार्य प्रयोग गर्ने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सचेतनामूलक कार्यक्रम गरेको छ।
ट्राफिक प्रहरीले सडक कसरी पार पर्ने, कसरी आवतजावत गर्ने भन्नेबारेमा यात्रुहरूलाई जानकारी दिएका छन् । साथै यात्रु तथा सवारी धनीले ट्राफिक नियम पालना गरेर मात्रै दुर्घटना न्यूनिकरण हुने बताएको छ ।















