धनगढी – दार्चुलामा प्रहरीले पेस्तोल भन्दै बरामद गरेको वस्तु नक्कली भएको पुष्टि भएको छ । महाकाली नगरपालिका–९ को सकार खेल मैदानबाट १५ वर्षीय किशोरको साथबाट पेस्तोल भन्दै शनिवार प्रहरी बरामद गरेको वस्तु नक्कली भएको खुलेको हो ।
स्थानीय खेलमैदानमा किशोरहरूबिच विवाद हुँदा ती किशोरले पेस्तोल भन्दै देखाएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक जगतगाहा मगरले जानकारी दिए ।
तर उनीसँग भएको वस्तु पेस्तोल नभएर बालबालिकाले प्रयोग गर्ने खेलौना भएको खुलेको प्रहरी निरीक्षक मगरले बताए । हेर्दा पेस्तोल जस्तै देखिने वस्तु भएकाले उनलाई नियन्त्रण लिइएको र पछि नक्कली पुष्टि भएपछि उनलाई छोडिएको थियो । पेस्तोल नभएको पुष्टि भएपछि किशोरलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।















