धनगढी– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।
समाजवादी प्रेस संगठन कैलालीले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो धारणा राखेका हुन् । उनले माओवादीले सकारात्मक रुपमा सोचे प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत पाउने उनले बताए ।
‘म धेरै आशावादी छु विश्वासको मत प्राप्त गर्नेमा, यसमा माओवादीले सोच्ने कुरा होला,’ उनले भने, ‘माओवादले सकारात्मक रुपमा सोच्यो भने त विश्वासको मत प्राप्त भैगो नि ।’ पत्रकारको अर्को प्रश्नमा उनले नागरिक उन्मुक्तिले दिएपनि वा माओवादीले दिएपनि सरकारले बहुमत प्राप्त गर्ने बताए ।
यस्तै नेता खनालले राष्ट्रिय सहमतीका आधारमा राष्ट्रपति चयन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले यसका लागि पहल गरिरहनुभएको भन्दै उनले त्यसमा सबैले सकारात्मक हुनुपर्ने बताए ।
सबै दल सहमती भएको खण्डमा राष्ट्रपतिका लागि नेकपा एस पनि तयार रहेको उनले बताए । पूर्वप्रधानमन्त्री समेर रहेका खनाल पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सहभागी हुन आज विहान धनगढी पुगेका हुन् ।













