काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए पनि सरकारमा जान तयार देखिएको छ । यसअघि सभापति रवि लामिछानेले गृहमन्त्रालय पाएमात्रै सरकारमा जान सकिने अडान राखेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई लिएर रास्वपा सरकारमा सहभागी हुनेबारे सकारात्मक बनेको छ ।
लामिछानेले पुष १० गतेको सहमति कार्यान्वयन र गृहमन्त्रालयको अडान लिएपनि प्रधानमन्त्री दाहालले अहिले राम्रा मन्त्रालय लिएर सरकारमा सहभागी हुन भनेपछि लामिछानेले सकारात्मक जवाफ दिएको बुझिएको छ।
प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुसँग उनले छलफल गरेका छन् । मन्त्रालयको भागबण्डा करिब टुँग्याईएको बालुवाटार स्रोतको दाबी छ । कांग्रेस ८ मन्त्रालयसहित सरकारमा जाने तयारीमा छ । तर, गठबन्धनमा आवद्ध सबै दललाई भागबण्डा मिलाउनुपर्ने भएकोले ७ वटा मन्त्रालय लिएर भएपनि कांग्रेस सरकारमा सहभागी हुनसक्ने चर्चा छ । रास्वपाले भने तीन मन्त्रालय पाउने भएको छ ।
लामिछानेले पार्टीले पाउने तीन मन्त्रालयको बारेमा आज साँझसम्म प्रधानमन्त्री दाहालसँग भेटेर टुँगो लगाउने भएका छन् । उनले तीन मन्त्रालयमा विराजभक्त श्रेष्ठ, सोविता गौतम, डा. चन्दा कार्कीलाई पठाउने योजना बनाएका छन् ।















