काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा आयोगका कर्मचारीका आफन्तको उत्तरपुस्तिकामा थपघट गरेको विषयमा विशेष अदालतले ६ जनालाई दोषी ठहर गरेको छ ।
गत ४ असोजमा भएको फैसलाको पूर्णपाठमा अन्य चारजना प्रतिवादीलाई सफाइ दिइएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो ।
त्रिवि सेवा आयोगबाट २८ फागुन ०७३ मा प्रकाशित नतिजा र १८ फागुन ०७३ मा प्रकाशित विज्ञापनको नतिजामा गडबडी भएको उजुरी परेपछि अनुसन्धान गरेर अख्तियारले १८ असार ०७६ र १५ चैत ०७८ मा गरी दुईवटा मुद्दा दायर गरेको थियो । यी दुवै मुद्दालाई लगाउमा राखेर अदालतले सुनुवाइ गरेको थियो ।
जसमध्ये एउटामा ६ जना र एउटामा एकजना दोषी ठहर भएका हुन् । आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, पूर्वप्राध्यापक गोविन्द ढकाल र सहप्राध्यापक ताराप्रकाश पौडेलले सफाइ पाएका हुन् । दोषी ठहर हुनेमा एकजना प्राध्यापक र एकजना सहप्राध्यापक छन् । अदालतले प्राध्यापक टेकनाथ ढकाल र सहप्राध्यापक राजेश्वर न्यौपानेलाई दोषी ठहर गरेको हो ।
अदालतले यो मुद्दामा त्रिवि सेवा आयोगका प्रशासन प्रमुख पदमा कार्यरत परशुराम कोइरालालाई नौ महिना कैद र आठ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । उनकी छोरी नमिता कोइरालाले समेत शाखा अधिकृत पदमा आवेदन दिएकी थिइन् । नयाँ पत्रिका













