धनगढी– सांसद पद खारेजीको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटले अग्राधिकार पाएको छ। बुधबार सर्वोच्च अदालतले अग्राधिकार दिने फैसला गरेको हो।
केही महिनाअघि राष्ट्रपतिबाट आममाफी पाएका उनीविरुद्ध वसन्त जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा ट्रयाक्टर जलाएको मुद्दामा ६ महिना कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता गराएकाले सांसद पद खारेजको माग गरिएको छ।
केही समयअघि सरकारको सिफारिसमा उनले ८ लाख पैसा बुझाएर माफी पाएका थिए। रिटमा माफी दिने प्रक्रियासमेत नमिलेको र उनी कुनै पनि राजनीतिक आन्दोलनका क्रममा सजाय नपाएकाले सांसद पद खारेज हुनुपर्ने जिकिर गरिएको छ।
सरकारले दिएको आममाफी बदर गर्दै उनको सांसद पद खारेज गरेर कैलाली–२ मा उप निर्वाचन हुनुपर्ने माग रिटमा गरिएको छ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो।















