काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले सांसद तथा पार्टीका नेता ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि आन्तरिक छानबिन सुरु भएको थियो। पार्टीको अनुशासन समितिले श्रेष्ठलाई स्पष्टीकरण सोध्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
रास्वपा अनुशासन समितिका सदस्य, अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार श्रेष्ठले पार्टी र जनतालाई धोका दिएको निष्कर्ष निकाल्दै उनलाई तत्काल प्रतिनिधि सभा सदस्य पदबाट हटाउन सिफारिस गरिएको छ। उनलाई पदमा राखिरहँदा भ्रष्टाचारमा संरक्षण गरेको देखिने भएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न पनि सिफारिस गरिएको छ।
अनुशासन समितिलाई पेस गरेको बयानमा श्रेष्ठले प्रसाईंसँग टेलिफोन वार्ता गरेर २ करोड रुपैयाँ मागेको भनिएको अडियोको आवाज आफ्नो नभएको दाबी गरेका थिए। अडियोको आवाज आफ्नो नभएको जिकिर गरे पनि श्रेष्ठले उक्त अडियो आफ्नो हैन भन्ने अन्य आधार पेस नगरेकाले उक्त आवाज श्रेष्ठको ‘हैन भन्न नसकिने’ निष्कर्ष समितिले निकालेको छ।
हालसम्म प्राप्त भएका तथ्य र श्रेष्ठको बयानका आधारमा अनुशासन समितिले सिफारिस गरेको र त्यसबारे थप निर्णय केन्द्रीय समितिले गर्ने अनुशासन समितिका सदस्य यज्ञमणि न्यौपानेको भनाइ छ।
उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान सुरु भएकाले पार्टीले त्यसमा सहयोग गर्नुपर्ने अनुशासन समितिको निष्कर्ष छ। रास्वपा अनुशासन समितिले सांसदलाई घुस अफर गर्ने व्यवसायी प्रसाईंमाथि पनि छानबिन हुनुपर्ने बताएको छ।
रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ।
उनले उक्त रकम सभापति लामिछानेको कोर टिमका सदस्यले मागेको पनि अडियोमा बताएका छन्। रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा, सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी छन्।















