काठमाडौं- आगामी आइतबार हुने उपनिर्वाचनको मौन अवधि गएको मध्य राति १२ बजेदेखि सुरु भएको छ।
आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।
मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने कानुनी व्यवस्था छ भने मतदान नसकिएसम्म मौन अवधि कायमै रहनेछ। त्यसकारण उम्मेदवार र दलले ठूला चुनावी सभा हिजोका लागि तय गरेका थिए।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि उम्मेदवार तथा दलका राजनीतिक दलले प्रचारप्रसार लगायतका काम गर्न पाउने छैनन्।
यस समयमा जनतासँग मत माग्न समेत पाइँदैन। एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरेर समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने नियम छ।
त्यसैगरी सञ्चार माध्यमले पनि चुनावी प्रचारलाई सहयोग पुग्ने खालका कुनै पनि सामग्री सम्प्रेषण गर्न पाउँदैनन्।अनलाइन, छापा वा अन्य कुनै सञ्चार माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न मिल्दैन।
यस अवधिभर दल, तिनका भ्रातृसंगठन, उम्मेदवार लगायतले राजनीतिक प्रचार र भेला गोष्ठी लगायतका कार्यक्रम आयोजना गर्न नपाउने नियम छ।
त्यसैगरी मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना प्रचारप्रसारका सामग्री पनि हटाउनु पर्ने नियम छ।
मौन अवधि उल्लंघन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।













