बैतडी । तल्लोसोराड क्षेत्रका नागरिकको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउन मेलौलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र मणिलेक मावि परिसरमा तीन दिनसम्म सञ्चालन भएको उक्त शिविरबाट चार हजार पाँच सय व्यक्ति लाभान्वित भएका छन्।
बैतडी समाज धनगढी कैलाली, मेलौली नगरपालिका, धनगढी नेत्रालय प्रालि र च्याटरी हेल्थ फाउन्डेशनको संयुक्त आयोजनामा शिविर शुक्रबारदेखि शुरु भएको थियो।
शिविरमा आँखा, नाक, कान, घाँटी रोग सम्बन्धी सेवा, बालरोग, स्त्रीरोग, सामान्य स्वास्थ्य परीक्षण, हाडजोर्नी सम्बन्धी समस्यालगायतमा विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेको शिविरका संयोजक गजेन्द्रवीर चन्दले जानकारी दिए। यसैगरी स्वास्थ्य शिविरमा ५१ जनाले रक्तदान गरे।
बैतडी घर भई हाल कैलाली बस्दै आएका व्यक्तिहरूको अगुवाइमा सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। स्थानीययस्तरमै विशेषज्ञ टोलीद्वारा सेवा पाउँदा यहाँका स्थानीयवासी खुसी छन्।
शिविरको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए।













