बैतडी- बैतडीमा ८० हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइएको छ। जिल्लाका दशवटै स्थानीय तहमा गरेर उक्त संख्यामा पीपीआरविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए।
पीपीआर रोगबाट बचाउन किसानले पालेका बाख्रालाई खोप लगाइएको हो। केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई लगाउनका लागि पीपीआर खोप पठाइएको र त्यसैअनुसार लगाइएको जनाएको छ। यो अभियान दुई महिनासम्म सञ्चालन भएको थियो।
पीपीआर रोगबाट बाख्रालाई बचाउन जिल्लाभर खोप अभियान सञ्चालन गरिएको प्रमुख पन्तले बताए। उनले भने, ‘बाख्रामा पीपीआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गरिएको हो। किसानहरूले पालेका बाख्रामा क्षति नहोस् भनेर सरकारले पीपीआर खोप लगाउने कामलाई प्राथमिकता राखेका हौं।’
बाख्रामा पीपीआर रोग लागेमा पखाला लाग्ने, र्याल सिँगान बगाउने, उच्च ज्वरो आउने लगायतका लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्छन्। गत वर्ष जिल्लामा बाख्राहरूलाई पीपीआर खोप दिइएको थियो।
जिल्लाभर किसानहरूले करिब डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सयभन्दा बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ।













