धनगढी- कोरोना र डेंगु संक्रमणबाट बैतडीमा एक जना युवाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका युवाको मृत्यु भएको हो।
अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवाको बुधवार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए।
नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवाको यहीँ वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो।
त्यसको दुई दिनपछि पुनः नमुना जाँच गराउँदा डेंगुको समेत संक्रमण देखिएपछि थप उपचारका लागि युवकलाई भेन्टिलेटरमा राखिएको सूचना अधिकारी उपाध्यायले बताए।
यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कञ्चनपुरकी एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो।













