कञ्चनपुर- कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र बेलौरीबाट प्रहरीले भारतबाट भित्र्याइएका प्रतिबन्धित बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको छ। शनिवार राती इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेलौरी नगरपालिका–६ भुराकोटबाट दुई वटा मोटरसाइकलमा लोड गरी भारतबाट नेपाल ल्याइरहेको करिब २ क्विन्टल २० किलो बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको हो।
से ५ प ८००१ नम्बरको होण्डा साइन र से ३ प ६३२५ नम्बरको बजाज मोटरसाइकलमा नेपाल भित्र्याइएको बोइलर कुखुरासहित बेलौरी नगरपालिका–७ बरैया बस्ने ४० वर्षीय किसन राना र वडा नं. ४ रिछाह बस्ने ४३ वर्षीय जवाहर रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका सई चन्द्र कठायतले बताए।
बरामद गरिएका ५० हजार मूल्य भन्दा बढीका कुखुरालाई पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको छ। बरामद गरिएको मोटरसाइकललाई त्रिनगर भन्सार कार्यालय चलान गरिँदै छ।
कञ्चनपुरसँग जोडिएको भारतीय सीमावर्ती बजारबाट चोरी तस्करीको माध्यमबाट कुखुरा तथा चल्ला भित्रिने गरेका छन्। यसले आफूहरू मारमा परेको दुखेसो नेपाली कुखुरा पालन व्यवसायीको रहेको छ। नेपाल ल्याउन प्रतिबन्ध लगाइएका बोइलर कुखुरा तस्करले लुकाइछिपाई नेपाली बजारमा भित्र्याउने क्रम बढेपछि प्रहरीले कडाइ गर्न थालेको छ।















