कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तीन सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको छ । नेपाल शिक्षक संघले बेलडाँडीका तीन पूर्व शिक्षकलाई सम्मान गरेको हो । शनिबार बेलडाँडीमा नेपाल शिक्षक संघले ३४औँ स्थापना दिवसको अवसरमा तीन शिक्षकलाई सम्मान गरिएको जनाइएको छ । संघले शैक्षिक योगदानको उच्च कदर गर्दै श्री बैजनाथ मावि झिलमिलाका पूर्व प्रअ ईन्द्रदत्त भट्ट, प्रअ धनसिह कार्की र बाशुदेव ओझालाई सम्मान गरेको हो ।
नेपाल शिक्षक संघ बेलडाँडीका अध्यक्ष दिल बहादुर सिंहले जीवनको उर्जाशिल समयदेखि सेवा निवृत्त हुञ्जेलसम्म शिक्षण पेशामा रहेर शिक्षा समाज र राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको बताए । कार्यक्रममा पूर्व प्रअ भट्ट, कार्की र ओझालाई प्रमाण पत्रका साथै खादा दोसल्ला ओढाएर भव्य सम्मान गरिएको थियो ।
उहाँहरूलाई बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, उपप्रमुख शान्ति नाथ, शिक्षक, समाजसेवी बुद्धिजीवी शुभेच्छुक एवम् शुभचिन्तकहरुले शुभकामना दिदैं भव्य सम्मान गरेका थिए । शिक्षकहरूले नेपाल शिक्षक संघ प्रति आभार प्रकट गर्दै बाँकी जीवन समाज सेवामा समर्पित गर्ने बताए ।















