नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको फेला परेको छ ।
प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीमाथि गरिएको अनुसन्धानमा यस्तो तथ्य फेला परेको मानव बेचखिबन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।
खत्रीका एक सहयोगीले २०७९ कात्तिक २४ मा एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौंमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएका थिए ।
पीडित युवती बेहोस भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेका थिए । त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ ।
त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो । पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा वैशाख ३१ गते पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा आजै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।













